काठमाडौं– मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले बिहीबार तारकेश्वर नगरपालिका–११ नेपालटारबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ घर भइ काठमाडौंको गोलढुंगा बस्ने २३ वर्षीय माइकल तामाङ रहेका छन्।
बागमती प्रदेश ०२ -०३४ प ८२ ४९ नम्बरको (एन.एस.) पल्सर मोटरसाइकल गत वैशाख १ गते काठमाडौंको केशरमहलबाट हराएको भन्दै चितवनका सुप्रिम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
खोजी गर्ने क्रममा परिवर्तित बागमती प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी तामाङलाई बिहीबार कार्यालयको पीडित सहायता ईकाईबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
ट्राफिक प्रहरीले सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।