काठमाडौं– सर्वोच्चको फैसला किर्ते गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ भालुखोप घर भएका ५५ वर्षीय जीतबहादुर कार्की छन्। उनलाई साउन २१ गते पक्राउ गरी लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी कुमोध ढुंगेलले जानकारी दिए।
जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। सिन्धुपाल्चोक जिल्ला अदालतमा रवीन्द्रकुमार खड्काले कार्कीविरुद्ध कर्तव्य ज्यानको मुद्दा हालेका थिए। उक्त मुद्दा जिल्ला उच्च हुँदै सर्वोच्चबाट २०७२ पुस २२ गते फैसला भएको थियो।
जहाँ कार्कीले कर्तव्य ज्यानको मुद्दाबाट सफाइ पाएका थिए। सिन्धुपाल्चोकमा शिक्षण पेसामासमेत रहेका कार्कीले कर्तव्य ज्यानको कसुरबाट सफाइ पाए पनि सर्वोच्चले पूर्णपाठमा भने उनी शिक्षक पेसामा पुनर्बहाली नहुने उल्लेख गरेको थियो।
तर, सर्वोच्चबाट सफाइ पाएपछि भने कार्कीले पुनर्बहाली नहुने भन्ने फैसलामा किर्ते गर्दै पुनर्बहाली हुने भन्ने बनाएर पेस गर्दै शिक्षक हुनुपर्ने भन्दै किर्ते गरिएको अदालतको उक्त फैसला पेस गरेका थिए।
उक्त फैसला किर्ते भएको हुनसक्ने भन्दै सर्वोच्चको फैसलासँग दाँज्दा किर्ते भएको देखिएपछि परिसरको टोलीले कार्कीलाई पक्राउ गरेको हो। कार्की सिन्धुपाल्चोककै एक विद्यालयमा अस्थायी शिक्षकको रुपमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।