काठमाडौं– नेपाल पुलिस क्लबका खेलाडी तथा प्रहरीका सहायक हवल्दार भरत शाहमाथि कुटपिट गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान रितेश थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरी वृत्त कमलपोखरी, काठमाडौंले थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो। कुटपिट गर्ने थापा प्रहरीका नायव निरीक्षक (सई) हुन्।
थापाले साउन १० गते आयोजित एउटा पार्टी (खानपान)का क्रममा कुटपिट गरेको खुलेको छ। राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले पार्टीका लागि भन्दै उनीहरु सहितका व्यक्तिलाई काठमाडौंको एउटा रेस्टुरेन्टमा बोलाएका थिए।
रेस्टुरेन्टमा भनाभन हुँदा थापाले शाहलाई कुटपिट गरेका बताइएको छ। कुटपिटको घटना सार्वजनिक भएपछि प्रहरीले थापालाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाएको थियो।
शाहमाथि भएको कुटपिटको घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेको नेतृत्वमा समिति समेत गठन गरिएको थियो।
कुटपिटमा संलग्न थापा यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत मुछिएका थिए। पछि अदालतबाट सफाई पाएर उनी पुनः जागिरमा जोडिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।