काठमाडौं- फेरेन्सिक जाँचका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको मोबाइल नै चोरी भएको छ। चोरी आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ।
बलात्कार आरोपमा उमेश सुनार नाम गरेका व्यक्ति पक्राउ परेका थिए। उनीबाट बरामद भएको मोबाइल परीक्षणका लागि प्रहरीको डीएफएलमा पठाइएको थियो। सोही मोबाइल चोरी गरेको आरोपमा दैलेखको नौमुले गाउँपालिका–४ घर भइ काठमाडौं बस्दै आएका १८ वर्षीय अमृत योगी पक्राउ परेका छन्।
उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। फरेन्सिक जाँचपछि उक्त मोबाइल डीएफएलमै काम गर्ने प्रहरी जवान सुरज कुँवरले बुझेका थिए। मोबाइल बुझेर फर्कने क्रममा काम विशेषले गृह मन्त्रालयको विपद् व्यवस्थापनमा जानुपर्ने भन्दै असार १२ गते बिहान ११ बजेतिर जवान कुँवरले उक्त मोबाइल सहितको झोला नयाँ बसपार्कस्थित नवज्योति गेष्ट हाउसमा राखेका थिए।
गृह मन्त्रालयबाट फर्केर आई झोलामा भएको सामान हेर्दा फरेन्सिक जाँच गरेर ल्याइएको २ वटा मोबाइल हराएको थियो। त्यसपछि उक्त होटलमा काम गर्ने योगी पनि फरार भएकाले उनै लगेको हुन सक्ने भन्दै जवान कुवँरले प्रहरीमा चोरीको अनुसन्धान गरी पाउँ भन्दै निवेदन दिएका थिए।
मोबाइल चोरेर फरार भएका योगीलाई असार ३१ जिल्ला प्रहरी कार्यालय रोल्पाले लिवाङबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।