धनगढी- सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीसहित संसदीय समितिको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ। कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको बाढी प्रभावित क्षेत्रको टोलीले निरीक्षण गरेको हो।
लगातार तीन दिनदेखि परेको भारी वर्षाका कारण प्रभावित क्षेत्रमा पुग्दै टोलीले नदीको प्रभाव, त्यसबाट पुगेको क्षति र भविष्यमा यस्ता विपदबाट हुने क्षति रोक्न सक्ने उपाय लगायतका विषयमा प्रभावित व्यक्तिहरूलाई भेटेर सुझाव लिएका छन्।
बाढी प्रभावित क्षेत्रमा पुगेपछि सभामुख भण्डारीले सरकारलाई विपद जोखिम न्यूनीकरणमा जोड दिन जिम्मेवार बनाउन कदम चालिने बताए। उनले भने, 'सदनबाट विपदमा जिम्मेवार बनाउन लाग्छौँ। यसका लागि नयाँ कार्ययोजना पनि बनाइने छ।'
उनले प्रदेश सभा सदस्य सबैले निरीक्षण गर्दा बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था दयनीय रहेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमा देवी विष्टले कैलालीको तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको बताइन्। उनले बाढीबाट हुने क्षति न्यूनीकरण गर्न तथा डुबान हुन नदिन सरकारले नयाँ नीति लिन जरूरी रहेको बताइन्। उनले भारतले वर्षातमा बाँध बन्द गरिँदा समेत तराई जिल्लामा बाढी तथा डुवानको समस्या हुने गरेको बताउँदै सरकारले भारतसंग यस विषयमा पनि छलफल गर्नुपर्ने बताइन्।
उनले बाढी प्रभावित परिवारलाई पार्टीबाट पनि तत्काल सहयोग पुग्नेगरी काम गराउन दबाब दिने बताइन्।
स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले विगतदेखि नै तराई क्षेत्रमा डुबान हुँदै गए पनि सरकार यसबारे गम्भीर हुन नसकेको बताए।
बाढी प्रभावित परिवारहरूलाई खाधान्नसंगै सामान्य खानेपानिको जोहो गर्न समेत समस्या छ तर, सरकार यस विषयमा कहिले गम्भीर बन्छ भनी उनले प्रश्न गरे।
बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश सभा सदस्य दीर्घ सोडारी, घनश्याम चौधरी, जानकी कुँवर, ईन्दिरा गिरी, ललिता सुनार लगायत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।