काठमाडौं– कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाइएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको हो।
अधिकारीको समितिले १० दिनभित्र घटनाको छानबिन गरेर रिपोर्ट दिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
संखुवासभा कारागारमा रहेका कैदीहरु मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश वलामीको बुधबार बिहान मृत्यु भएको थियो।
उनीहरु मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरुले उनीहरु २ जना गम्भीर बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।