काठमाडौं– नक्कली नोटसहित सशस्त्र प्रहरीले काठमाडौंबाट ३ जनालाई नियन्त्रणमा लिएको (पक्राउ गरेको) छ। तारकेश्वर नगरपालिका– ५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार साँझ सशस्त्र प्रहरीले ३ जनालाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका–२ का सुवास गुरुङ र रामेछापको गोकुल गाउँपालिका–१ का मद दमाइ छन्।
उनीहरु काठमाडौंको तारकेश्वर–५ गोलढुङ्गामा घर भाडामा लिएर बस्दै आएका थिए। सशस्त्र प्रहरीले उनीहरुको कोठाबाट नेपाली रुपैयाँ १ हजार दरको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको जानकारी दिएको छ।
यस्तै, मोबाइल ४ था , सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको सशस्त्रले जानकारी दिएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ।
उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।