काठमाडौं– भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी मनाइँदै छ। यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ। कृष्णको पादुका राखी पूजाको व्यवस्था मिलाइएकामा श्रद्धालुहरुले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन्।
भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ। मन्दिर जान नसकेका श्रद्धालुहरुले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन्। श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकिर्तन गरेर कृष्णको महिमा गाउने क्रमसमेत जारी छ।
भगवान कृष्णले आफ्नै मामा कंशको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन्।
कृष्ण जन्मिएको अवसरमा आज मध्यरातमा कृष्णलिलासमेत देखाइने परम्परा छ।
कृष्णजन्माष्टमीकै अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।