धनगढी– अविरल वर्षासँगैको बाढीका कारण कैलालीमा डुवान भएको छ। जिल्लाको कैलारी गाउँपालिकामा झण्डै २५० घरपरिवार डुवानका कारण विस्थापित भएका छन्।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलारी गाउँपालिकाका धेरै ठाउँमा डुवान भएको छ। घरभित्र पानी पसेपछि स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालिएको छ।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र बमले गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा पानी पसेर २५० घरपरिवार विस्थापित भएको जानकारी दिए। डुवान क्षेत्रका बासिन्दालाई अहिले स्थानीय विद्यालयमा राखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा धनगढी विमानस्थलमा ०.२ मिलिलिटर वर्षा हुँदा टीकापुरमा १०७ मिलिलिटर वर्षा भएको छ।
कैलालीको कार्णाली नदीमा जलसतहसँगै पानीको बहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव भने मंगलबार बिहानसम्म स्थिर रहेको बताइएको छ।
मंगलबार बिहान कर्णाली नदीमा जलसतह ७.८६ मिटर पुगेको छ। सो नदीको जलसतह १० मिटर पुगेमा सर्तकता तह र १०.८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ।
कैलालीका सहायक नदी स्थिर भएपनि मंगलबार पनि कैलालीसहित सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।