सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाको मायाथानमा पहिरो जाँदा करिब ७० घर जोखिममा परेका छन्। अविरल बर्षापछि गएको पहिरोका कारण सो क्षेत्रका भिरकुना, ओख्रिनी, चौतारी टोल, दमाई खोल्छा, काभ्रेडिल, नागेडाँडा लगायतका क्षेत्रका घर जोखिममा परेका छन्।
पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षति पुगेको छ भने त्यहाँका स्थानीयहरुसमेत विस्थापित भएका छन्। भूकम्पपछि न्यन मात्रमा पहिरो आएको सो क्षेत्रमा स्थानीयले पक्की घर बनाएर बसेका थिए। अहिले पहिरो आएपछि रातभर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ।

उनीहरुले तत्कालका लागि सरकारले आफूहरुलाई सुरक्षित स्थानको व्यवस्था गर्न माग पनि गरेका छन्। पहिरोग्रस्त क्षेत्रको निरिक्षण गर्दे नेपाली कांग्रेसका नेता मोहन बस्नेतले बसोबासका लागि तत्काल स्थानीयलाई वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरे। उनले एक महिना अझै पहिरोको जोखिम कायमै रहेको भन्दै अन्य स्थानमा बसोबासका लागी आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
त्यस्तै, पहिरो कै कारण सिन्धुपाल्चोकको बारबिसे–तातोपानी सडक खण्डको खुर्सानीबारीमा रहेको पुलमा पनि पूर्णरुपमा क्षति पुगेको छ। पुल भत्किँदा सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।