वडाध्यक्ष कार्की (फाइल तस्बिर)
सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले आत्मसमर्पण गरेका छन्। गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडेलमाथि हातपात गरेको आरोप लागेका वडाध्यक्ष कार्कीले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
आफूमाथि कुटपिट गरेको भन्दै गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडेलले प्रहरीमा जाहेरी दिएका थिए। आफूविरुद्ध जाहेरी परेको ३६ दिनपछि कार्कीले प्रहरीमा आत्मसमर्पण गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत पौडेलले असार १४ गते प्रहरीमा जाहेरी दिएका थिए।
गत असार १४ गते नै गाउँ सभा बस्ने तयारीका क्रममा वडाध्यक्ष कार्कीले आफूमाथि कुटपिट गरेको प्रमुश प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।
असार १० गते गाउँ सभा बस्न लागेको थियो। तर गाउँ सभा बस्नका लागि बहुमत नपुगेपछि स्थगित भयो। त्यसपछि १२ गतेका लागि गाउँसभा तोकिएको थियो। १२ गते पनि बहुमत नपुगेपछि गाउँसभा बस्न सकेको थिएन।
असार १४ गते, बिहीबार पनि गाउँसभा बस्नका लागि बैठक बोलाइएको थियो। प्रमुख प्रशासकीय अधिकृत बैठकमा गएका थिए। डायरी छुटेपछि आफू डायरी लिन गाडीमा फर्किँदै गर्दा वडाध्यक्ष कार्कीले किन गाउँ सभामा गएको भन्दै आफूमाथि हातपात गरेको उनको भनाइ छ।
प्रहरीमा जाहेरी परेपछि कार्कीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उनीविरुद्ध असार १५ गते पक्राउ पूर्जी जारी गरेको थियो।
वडाध्यक्ष कार्कीले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दाबी गर्दै आएका छन्। कार्की नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।