काठमाडौं–सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन्।
वडाध्यक्ष दौलत कार्कीले प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडलमाथि हातपात गरेका हुन्। गाउँ सभा बस्ने तयारी भइरहेका बेला डायरी छुट्यो भन्दै लिन फर्किएका बेला वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलले नेपाल लाइभलाई बताए।
असार १० गते गाउँ सभा बस्न लागेको थियो। तर गाउँ सभा बस्नका लागि बहुमत नपुगेपछि स्थगित भयो। त्यसपछि १२ गतेका लागि गाउँसभा तोकिएको थियो। १२ गते पनि बहुमत नपुगेपछि गाउँसभा बस्न सकेन।
बिहीबार पनि गाउँसभा बस्नका लागि बैठक बोलाइएको थियो। प्रमुख प्रशासकीय अधिकृत बैठकमा गएका थिए। डायरी छुट्यो भन्दै उनी डायरी लिन गाडीमा फर्किँदै गर्दा वडाध्यक्ष कार्कीले किन गाउँ सभामा गएको भन्दै आफूमाथि हातपात गरेको उनको भनाइ छ।
गाडीभित्र बसिरहेकै बेला कठालो समातेर तानेको र गाडीको लुकिङ ग्लास फुटाएको पौडेलले नेपाल लाइभलाई बताए। यसबारे वडाध्क्ष कार्कीले भने आरोप अस्वीकार गरेका छन्। गाउँ सभा बैठकमै प्रमुख प्रशासकीय अधिकृत मदिरा सेवन गरेर आएकाले त्यसबारे सम्झाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।