काठमाडौं– सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृत शम्भूप्रसाद पौडेलले वडाध्यक्ष कार्कीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिवलालले वडाध्यक्षविरुद्ध जाहेरी परेको पुष्टि गरे। ‘प्रशासकीय अधिकृतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिनुभएको छ। अब वडाध्यक्षविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँछौं,’ एसपी सिलवालले नेपाल लाइभसँग भने।
बिहीबार वडाध्यक्ष कार्कीले प्रशासकीय अधिकृत पौडेलमाथि हातपात गरेका थिए। गाउँ सभा बस्ने तयारी भइरहेका बेला डायरी छुट्यो भन्दै लिन फर्किएका बेला वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलले नेपाल लाइभलाई बताएका छन्।
असार १० गते गाउँ सभा बस्न लागेको थियो। तर गाउँ सभा बस्नका लागि बहुमत नपुगेपछि स्थगित भयो। त्यसपछि १२ गतेका लागि गाउँसभा तोकिएको थियो। १२ गते पनि बहुमत नपुगेपछि गाउँसभा बस्न सकेन।
बिहीबार पनि गाउँसभा बस्नका लागि बैठक बोलाइएको थियो। प्रमुख प्रशासकीय अधिकृत बैठकमा गएका थिए। डायरी छुट्यो भन्दै उनी डायरी लिन गाडीमा फर्किँदै गर्दा वडाध्यक्ष कार्कीले किन गाउँ सभामा गएको भन्दै आफूमाथि हातपात गरेको उनको भनाइ छ।
गाडीभित्र बसिरहेकै बेला कठालो समातेर तानेको र गाडीको लुकिङ ग्लास फुटाएको पौडेलले नेपाल लाइभलाई बताए। यसबारे वडाध्क्ष कार्कीले भने आरोप अस्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।