काठमाडौं– सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।
रौतहटको गौर नगरपालिका–३ स्थायी घर भएका सतेन्द्र अधिकारी भनिने सत्येन्द्र प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।
उनले आफू वीर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी रहेको भन्दै वीर अस्पतालमा जागिर लगाइदिने र उनका आफन्तहरुलाई वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको पाइएको छ।
रोजगारीका लागि क्यानडा मात्रै नभई इजरायललगायतका देशमा सरकारी कोटामा पठाइदिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्रसमेत लगेर विभिन्न प्रलोभन तथा प्रभावमा पारी ३० लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका थिए।
साथै विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी कीर्तेसमेत गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साउन १९ गते ललितपुरको ग्वार्गोबाट पक्राउ गरेको हो। उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।