प्रतिकात्मक तस्बिर
काठमाडौं– सरकारी हातहतियार (पेस्तोल) चोरी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक र सिन्धुलीका २ जनालाई पक्राउ गर्यो। शनिबार उनीहरु पक्राउ परेपछि मात्र थाहा भयो उनीहरु सर्वोच्च अदालतका न्यायाधीशका निजी सुरक्षा अधिकृत (पीएसओ)कै पेस्तोल चोरी गर्न सफल भएका थिए।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पीएसओ प्रभाकार खड्काको पेस्तोल चोरी गरेर उनीहरु फरार भएका थिए।
पीएसओ खड्काको पेस्तोल असार ३० गते चोरी भएको भएको थियो। पेस्तोल चोरी भएको २९ दिनपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको हो। यसअघि न्यायाधीशका पीएसओको पेस्तोल हराएको कुरा सार्वजनिक भएको थिएन।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलका अनुसार उनीहरुलाई चोरी गरेको पेस्तोलसहित बौद्धको शिवमन्दिर नजिकै पक्राउ गरिएको हो।
पेस्तोलसँगै त्यसमा लाग्ने ७ राउण्ड गोली पनि उनीहरुको साथबाट बरामद भएको उनले बताए । उनीहरुले पेस्तोलको दुरुपयोग गरे नगरेकोबारे भने अनुसन्धान भइरहेको ढुंगेलले बताए।
उनीहरु न्यायाधीश सुवेदीका पीएसओ खड्काको घर नजिकैको एउटा घरमा चोरीका लागि गएका थिए। फर्कदा पीएसओ (प्रहरी नायव उपरीक्षक, सई) खड्काको घरको झ्याल खुल्लै देखेपछि नजिकै रहेको झोला चोरी गरेको उनीहरुले बयान दिएका छन्। चोरी गर्ने क्रममा झोला नहरेको, तर पछि हेर्दा त्यसमा पेस्तोल देखिएको उनीहरुले बयान दिएका छन्।
पेस्तोल चोरी भएलगत्तै न्यायाधीशका पीएसओले प्रहरी वृत्त, बौद्धमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले पटके चोरहरुलाई अनुसन्धानको दायरमा ल्याएर खोजी थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।