काठमाडौं– युवतीको प्रयोग गरी हनी ट्रयापमा पार्दै रकम उठाउने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–९ घर भएकी २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मान्खा घर भएका दीपक पराजुली, सोही ठाउँ घर भएका २४ वर्षीय बिमल सुवेदी र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरोज तिमिल्सिना छन्।
यो गिरोहका अनिताले विभिन्न पुरुषहरुलाई सामाजिक सञ्जालमा फ्रेन्ड रिक्वेस्ट गरी साथी बनाउने। त्यसपछि कुराकानी गर्दै भेट्न प्रस्ताव राख्ने। योजनाबद्ध रुपमा रेष्टुरेन्टमा भेट गरी भिडिओ, फोटो खिच्ने र ब्ल्याकमेलिङ गर्दै रकम उठाउने गरेको पाइएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
अविवाहित अनिताले विशेष गरी विवाहित केटाहरुलाई साथी बनाएर भेट गरी फोटा, भिडिओ खिच्ने र पछि केटाहरु लगाएर रकम उठाउने गरेकी थिइन्। त्यसैगरी दीपक पराजुलीले भने गृहमन्त्रालयको प्रेस सल्लाहकार बन्दै फोन गरेर धम्क्याउँदै रकम उठाउने गरेको खुलेको छ।
पत्रकारको भूमिकामा आफूलाई देखाएर उनले पैसाको बार्गेनिङ गर्ने गरेका थिए। उनी पेशाले भने गाडी चालक रहेको पाइएको छ। उनले पीडितको सम्पूर्ण विवरण रेकर्ड गरेर राख्ने र नत्र प्रकाशित गरिदिन्छु भनेर धम्क्याउँदै रकम असुल्ने काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विमल सुवेदी र सरोज तिमिल्सिना भने पठाओ राइडर भएको पाइएको छ। उनले पनि म्यासेज तथा भेट गरी ब्ल्याकमेलिङ गर्ने काम गरेको खुलेको छ। यो समूहले हिजो बुधबार मात्रै पीडितसँग ३ लाखको चेकसमेत लिएका थिए। यसअघि असार २८ गते यसैगरी ३ लाख २५ हजार रुपैयाँ उनीहरुले लिइसकेका थिए। आपराधिक लाभको कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।