कैलाली– कैलालीको जानकी गाउँपालिका–८ पालबजारका मुक्त कमैया शिविरका स्थानीयबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले लिएकोे अवैध रकम फिर्ता भएको छ। मुक्त कमैयालाई लालपूर्जा बनाउन मोटो रकम लाग्ने भन्दै मुक्त कमेैया शिविर पालबजारका ५७ जनाबाट उठाएको रकम मध्ये २ लाख ३ हजार ८ सय २५ रुपैयांँ कार्यालयका कर्मचारीले फिर्ता गरेका हुन्।
लालपूर्जा बनाउन वडा कार्यालयको सिफारिस सहित बढीमा १ हजार १ सय रुपैयाँ मात्र लाग्ने थियो। तर, मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यालय सहयोगी मनीराम चौधरीले विचौलिया सँगको मिलेमतोमा बिल नकाटेरै लालपूर्जा बनाउँदा एक जनाबाट ३ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्म अवैध रुपले असुलेका थिए।स्थानीय समाजसेवी तथा नेपाली कांग्रेस जानकी गाउँपालीका वडा नम्बर ८ का नेता केशव बहादुर शाहीको विशेष पहलपछि अवैध रुपमा लगिएको रकम फिर्ता गर्न मालपोत कार्यालयका कर्मचारी सहमत भएका हुन।
फिर्ता गरेको रकम स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा पीडितलाई बाँडिएको हो।लालपूर्जा दिलाइ दिने नाममा मुक्त कमैया शिविरबाट अवैध रुपमा एक गिरोहले पैसा असुल्दै गरेको खबर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी अमरावतीको टोलीले घटनामा संलग्न पालबजारका प्रेमलाल चौधरी र रामलाल चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको सहायक प्रहरी निरीक्षक रण बहादुर बुढाले बताए। एक सय रुपैयाँको रसिद काटी हजाराैँ असुल्दै गरेका घटनाका योजनाकार मालपोत कार्यालयमा कार्यरत कर्मचारी मनिराम चौधरी प्रहरीबाट भागेर पीडित समक्ष आफ्नो गल्ती स्वीकार गरी माफी मागी घटना मिलाउन दबाब दिएर पैसा फिर्ता दिएको बताइएको छ।
फिर्ता गरेको सोही पैसा मुक्त कमैयालाई बाँडिएको स्थानिय नेता केशव शाहीले बताए।पैसा नतिरेसम्म लालपूर्जा नमिल्ने भन्दै गाउँ–गाउँमा मा खबर आएपछि आफुहरु तोकिएको रकम तिर्न बाध्य भएको पीडितले गुनासो गरेका छन्। जग्गाको लालपुर्जा लिन वडा कार्यालय र मालपोतमा गरी करीब १ हजार १ सय रुपैयाँ मात्र बुझाउनु पर्ने जानकारी पाएपछि आफुहरू ठगिएको थाहा पाएको मुक्त कमैया शिविरकी कुलेनी थारु र दिल कुमारी चौधरीको भनाइ छ।
भूमिसुधार कार्यालयले करिब १० वर्षअघि विभिन्न ठाउँमा बस्दै आएका मुक्त कमैयाहरूको लगत संकलन गरेको थियो। सोही अनुसार मुक्त कमैया पुर्नस्थापना समितिको सिफारिसमा जानकी गाउँपालिका–८, पालबजारका ६२ र लम्कीचुहा नगरपालिका–३, बल्चौरका ३ सय १८ घरपरिवारलाई समेत जग्गा दिने निर्णय भएको थियो।
मालपोत कार्यालय टीकापुरले नामथर फरक परेमा, कुनै जग्गाधनीको मृत्यु भएमा वा अन्य कुनै कारणले सच्याउनु पर्ने भए स्थानीय तहको सिफारिस लिएर आउन मुक्त कमैयालाई सूचना गरेको थियो।सोही सूचनाका आधारमा मालपोत कार्यालयका कर्मचारी संलग्न गिरोहले मुक्त कमैयाहरूसँग रकम असुलेको पाइएको छ।
पालबजारका मुक्त कमैयाहरूको पैसा फिर्ता भएपनि जिल्लाको बल्चौर, बक्लौवा, विध्यानगर शिविरका मुक्त कमैयाबाट अवैध रुपमा लिएको लाखौँ रुपैयाँ भने अझै फिर्ता भएको छैन। पीडितको तर्फबाट कुनै निवेदन र फिराद नपरेको भन्दै घटनामा संलग्न पालबजारका प्रेम चौधरी र रामलाल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले छोडिसकेको छ भने मालपोत कार्यालयका मनिराम चौधरीलाई कुनै कारबाहीको दायरामा ल्याउन सकेको छैन।
मुक्तकमैयाबाट अवैध रुपमा विचौलिया र मालपोत कार्यालयका कर्मचारीले रकम असुल्दा समेत स्थानिय जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले घटनामा जनप्रतिनिधिको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।