काठमाडौं- गुणस्तरहीन खाद्यवस्तु कारोबार गर्ने पार्टी प्यालेसको पक्षमा सांसद् लागेको भन्दै सहकारी संस्थाका सदस्य आक्रोशित भएका छन्।
सोह्रखुट्टेस्थित नयाँबजार मल्टीभेन्युले प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उजुरी गरेको थियो।
उजुरीपछि शनिबार दिउँसो उक्त प्यालेसमा शिल गरिएको थियो। तर प्रदेश ३ का सांसद वसन्त मानन्धर आएर पार्टी प्यालेसको पक्षमा लागि 'सेफ ल्यान्डिङ' हुनुपर्ने बताएपछि स्थिति भड्किन खोजेको सहकारीका सदस्यले बताएका छन्। मानन्धरले त्यहाँ पुगेका पत्रकारमाथि पनि दुर्व्यवहारको प्रयास गरेका थिए।

सांसद मानन्धर (चस्मा लगाउने)
उक्त सहकारीले ५ सय जनाका लागि खानाको अर्डर गरेको थियो। खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो ।
विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले उक्त पार्टी प्यालेसमा शिल गरेको हो। अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो।
पार्टी प्यालेसमा अनेकौं समस्या देखिएको भन्दै यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।