काठमाडौं– सर्वसाधारण नागरिकलाई धम्क्याउँदै रकम असुल गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहहरुमा गुण्डागर्दी गर्दै सर्वसाधारणबाट रकम असुल गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची–६ का ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्ची–१० का ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१० कै ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोककै चौतारा साँघाचोकगढी-०१ का ३५ वर्षीय प्रविण तामाङ र रामेछापको गोकुलगंगा–६ का २८ वर्षीय बाफ्ले भनिने विक्की लामा रहेका छन्।
पक्राउ परेकामध्ये श्याम लामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तरुण दलका सभापतिसमेत रहेका छन्। उनी यसअघि पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई जोरपाटीबाट पक्राउ गरिएको हो। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि बुधबार प्रहरी वृत्त बौद्ध पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।