काठमाडौं– वैदेशिक रोजगार विभागले रोजगारीमा कामदार पठाउँदा समस्यामा पार्ने म्यानपावर कम्पनीमाथिको कारबाही कागजमा मात्रै सीमित हुने गरेको पाइएको छ। विभागले पीडित कामदारले दिएको उजुरीलाई औपचारिकताका लागि म्यानपावरको कामकारबाही रोक्का गरी कारबाही गर्न आश्वासन मात्रै दिने गरेको पीडितकै गुनासो छ।
वैदेशिक रोजगारीमा कामदार पठाउँदा विदेशमा समस्यामा परेका कामदारले न्यायका लागि विभागमा उजुरी गरेपछि म्यानपावरको कामकारबाही रोक्का गरेर कारबाही अघि बढाउने कानुनी व्यवस्था छ। यसरी रोक्का गरिएका म्यानपावर कम्पनीले कामदारलाई दिनुपर्ने क्षतिपूर्ति र उजुरीको फरफारक नै नगरी काम गर्ने गरेको वैदेशिक रोजगार पीडितको गुनासो छ।
लिभरपुल इम्प्लोइमेन्ट सभिर्स प्रालिबाट तीन महिनाअघि युएई गएका सुमन काफ्ले र पारस पाण्डे नेपालबाट त्यहाँ जादाँ सम्झौता गरेअनुसारको पारिश्रमिक र सेवासुविधा कम्पनीले नदिएपछि स्वदेश फर्किएर विभागमा उजुरी गरेका थिए। उनीहरूले म्यानपावर विरुद्ध उजुरी गरेपछि विभागको उजुरी शाखाले म्यानपावर सञ्चालकलाई बोलाएर कम्पनीको कामकारबाही रोक्का गरिएको जानकारी गराएको थियो। तर, विभागले गरेको कारबाही रोक्काले म्यानपावरलाई केही असर नगरेको विभागमा भेटिएका पाण्डे र काफ्ले बताए।
उजुरी गरेका १ महिनाभन्दा बढी भए पनि म्यानपावरले तोकिएको समयसम्म उनीहरूको समस्या समाधान गरेको छैन। विभागले काम रोक्का गरेको दाबी गरेपनि म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार पठाइरहेको काफ्लेको आरोप छ। उनीहरूले गत साउन ७ मा विभागमा उजुरी दर्ता गराएका थिए तर म्यानपवारको काम कारबाही फुकुवा नगरी काम गर्न विभागले अनुमति दिएको पीडितको दाबी छ।
धनकुटाका जीवन कटुवाल र विष्णु भट्टाराई टाइगर ओभरसिर्स इम्प्लोइमेन्ट प्रालिबाट रोजगारीका लागि युएई गएका थिए। कतार रोजगारीमा जादाँ नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको काम र सेवा सुविधा नपाएपछि फर्किएर आएका उनीहरूले उक्त म्यानपावरका नाममा विभागमा उजुरी गरेको बताए।उजुरी गरेको दुई साता भएपनि म्यानपावर सञ्चालकले दिनैपिच्छे टार्न गरेको कटुवालले गुनासो गरे।
उजुरी गरेको केही दिनपछि विभागले म्यानपावर सञ्चालक बोलाएर काम कारबाही रोक्का गरेको भन्दै चाँडै मुद्दाको सुनुवाइ हुन्छ भनेर फकाएपनि अहिलेसम्म नभएको उनको आरोप छ। म्यानपावरले आजभोली भन्दै टारेर झुलाउन खोजेको उनले गुनासो गरे। उक्त म्यानपावरले पनि श्रम स्वीकृति निकालेर कामदार विदेश पठाइरहेको पाइएको छ। उनीहरूजस्ता धेरै पीडित विभागमा उजुरी लिएर आउने गरेका छन्।
विभागमा दैनिक १० जनाभन्दा बढी यस्तै उजुरी पर्ने गरेको विभागको मुद्दा दर्ता शाखाले जानकारी दिएको छ।विभागमा भेटिएका वसन्त चापागार्इं पनि ६ महिना अघि एसियन लिक सभिर्स प्रालिबाट कतार गएका थिए। उनले हातमा सीप नभएको कामका लागि म्यानपावरले कतार पठाएपछि स्वदेश फर्किएर न्याय खोज्न विभागमा आएका बताए। चापागार्इं म्यानपावरमा आफैं फर्किएर आएपछि कुराकानी गर्न जाँदा सञ्चालकले थर्काएर पठाएको बताए। न्याय खोज्न जादाँ अन्यायमा पर्ने डर भएको उनको भनाइ छ।
विभागमै भेटिएका पीडितकै भनाइलाई आधार मान्ने हो भने वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किएका कामदारले न्यायभन्दा धेरै आश्वासान मात्र पाउने गरेको देखिन्छ।म्यानपावर कम्पनीले विभागका कर्मचारीका अगाडी नै पीडितलाई हप्काउने र धम्काउने गरेका छन्। कर्मचारीकै अगाडी यस्तो हर्कत हुदाँ पनि विभागका कर्मचारी मौन भएर रमिता हेर्ने गरेको पीडितको गुनासो छ।
म्यानपावर सञ्चालकले कामकारबाही रोक्का हुँदा अन्य कामदारलाई रोजगारीमा पठाउन समस्या भएको भन्दै विभागमा अनुरोध गरी फुकुवा गर्ने गरेका छन्। यस विषयमा विभागका कर्मचारी जानकार रहे पनि अनभिज्ञता प्रकट गर्ने गरेको पीडितहरू बताउँछन्।कतिपय महत्वपूर्ण घटना माथिसम्म आइनपुग्दा पीडित न्यायबाट वञ्चित हुनुपरेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागार्इं स्वीकार गर्छन्।
यस्ता मुद्दाका विषयमा आफूलाई जानकारी नभएको भन्दै आगामी दिनमा त्यसरी रोक्का राखिएको म्यानपावरलाई समस्या समाधान नभएसम्म फुकुवा नगरिने महानिर्देशक चापागार्इंले बताए।वैदेशिक रोजगार ऐन २०६४ को दफा ५४ अनुसार त्यसरी अटेरी गर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रोपटक ५० हजार रुपैयाँ जरिवाना र तेस्रोपटक पनि सोही कसुर दोहोर्याएमा १ लाख रुपैयाँ जरिवाना गरी इजाजतसमेत रद्द गर्नसक्ने व्यवस्था र अधिकार विभागसँग छ।
तर, विभागले अधिकारको प्रयोग गरेको पाइँदैन। विभागमा पीडित आएर रोइ कराई गरेपछिमात्र चासो दिएर काम गर्ने गरेको पीडितको आरोप छ। विभागमा एउटा म्यानपावरका नाममा १ सय २० वटासम्म उजुरी परेका छन्। ती म्यानपावरलाई विभागले काननुअनुसार कारबाही गरेको प्रमाण नै छैन।
विभागले गर्ने कारबाही फितलो हुँदा म्यानपावर कम्पनीको मनोबल बढेर यस्ता घटना दोहोर्याउने गरेका पीडितको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।