काठमाडाैं–गुणस्तरहीन खाद्यवस्तुको कारोबार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टीभेन्युमा शिल गरेको छ।
विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले उक्त पार्टी प्यालेसमा शिल गरेको हो। अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो। गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको छ।

स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उजुरी गरेको थियो। उक्त सहकारीले ५ सय जनाका लागि खानाको अर्डर गरेको थियो। खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो ।

पार्टी प्यालेसमा अनेकौं समस्या देखिएको भन्दै यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।