काठमाडौं- इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दीको साविक अर्मन गाविस घर भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल ल्याइएको छ।
प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा युवतीलाई नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने काम बिकले गरेका थिए।
पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरेपछि ती महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँगको समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो।
बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।