काठमाडौं– बलात्कार गर्दै घरजग्गा नै कब्जा गर्ने मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।
पाँच लाख रुपैयाँ ऋण तिर्न नसक्दा ऋणीको घरजग्गा कब्जा गर्नुका साथै पीडित महिलालाई सूर्जमानले पटक–पटक बलात्कार गरेको आरोप लागेको छ। उनले पाँच लाख ऋणमा करिब ८० लाखको घरजग्गा कब्जा गरेको आरोप छ।
मिटरब्याजी सुर्जमान मालीसँग सपनाले २०७६ मा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले २ लाख रुपैयाँ तिरेकी पनि थिइन्। तर सूर्जमानले भने ५ लाख ऋणलाई ६५ लाख ऋण लिएको भनेर नक्कली तमसुक बनाएर ती महिलाको घरजग्गा नै हत्याएको बताइएको छ।
ती एकल महिलामाथि सामूहिक बलात्कारसमेत भएको थियो। अहिलेसम्म पीडित भनिएकी महिलाको जाहेरी परेको छैन। प्रहरी जाहेरी कुरेर बसेको छ। शुक्रबार मात्रै ती महिलाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि गृहमन्त्रीले मालीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।