काठमाडौं– महोत्तरीमा दिनदहाडै हतियार देखाएर बैंक लुटपाटमा संलग्न मध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन्।
गत जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा एक समूहले हतियार देखाएर दिउँसै लुटपाट गरेको थियो।
४/५ जनाको समूहमा आएका नकाबधारीहरुले बैंकका कर्मचारीसहित बैंकमा सेवा लिन आएका सेवाग्राहीलाई नियन्त्रणमा लिँदै १५ लाख रुपैयाँ नगद लुटेका थिए। नम्बर नखुलेको २ वटा मोटरसाइकलमा आएका उनीहरु बैंक लुटेपछि फरार भएका थिए।
उक्त घटनामा संलग्न रहेकामध्ये भारतीय नागरिक साफीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।