काठमाडौं– एक क्वीन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारिएको छ।
तस्करीमा संलग्न भएको आरोपमा राजश्व अनुसन्धान विभागको टोलीले उनको कमलपोखरीस्थित घरमा छापा मारेको हो।
केही दिनअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आधारहरु देखिएपछि छापा मारिएको विभाग स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
उनीसँग नेपाल भारत दुवै देशको नागरिकतासमेत रहेको बताइन्छ। उनी विदेश भ्रमण गर्दासमेत नेपाल र भारतीय दुवै राहदानी प्रयोग गर्ने गरेको स्रोत बताउँछ।
उनी नेपाल हङकङ आउजाउ गरिरहने गरेको पनि देखिएको छ। उनी एक महिनाअघि मात्रै काठमाडौंबाट दिल्ली हुँदै हङकङ पुगेका थिए।
त्यहाँ करिब १५ दिन बिताएपछि हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेको रेकर्डमा देखिएको छ। पछिल्लो ६ महिनादेखि हङकङ आउजाउ गरिरहेको देखिएकाले यो सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।