काठमाडौं– ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गरेका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाई भनिने युवराज गुरुङलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंले १० हजार धरौटी माग गरेका गुरुङ भने कारागार चलान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए।
गुरुङले १० हजार धरौटी बुझाए पनि बैंकिङ कसुर मुद्दामा १ दिन कैद, ३ लाख जरिवाना र १२ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको मुद्दामा फरार भएकाले उनलाई कारागार पठाइएको अधिकारीले बताए।
उनी प्रहरी वृत्त दरबारमार्गबाट २०७६ पुस २५ गते बैंकिङ कसुरको मुद्दा चलेको थियो। सो मुद्दामा दोषी ठहर भए पनि उनी फरार थिए।
यसैगरी गुरुङलाई सम्पत्ति शुद्धीकरण विभाग पनि पठाइने भएको छ। उनको आर्थिक पाटोबारे छानबिन गर्नुपर्ने भएको भन्दै विभागले उपस्थित गराउन भनेर पत्राचार गरेकाले काराबाट उनलाई विभागको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
‘विगत केही वर्षदेखि उनी गुण्डागर्दीमा संलग्न रहेको, चन्दा उठाउने गरेको, स्थानीय तथा सर्वसाधारणबाट धम्क्याउँदै रकम असुल्ने गरेको भन्ने पाइएको उनको सम्पत्ति छानबिन गर्नुपर्ने देखिएकाले उपस्थित गराइदिनु हुन’ भन्दै विभागले प्रहरीलाई पत्र लेखेको छ।
ठमेलको क्लब ओम्नियामा प्रवेश गरेर कुटपिट गरेको घटनामा सानुभाईसहित उनका समूहका ८ जना पक्राउ परेका थिए। यसअघि मंगलबार ७ जना अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट जनही ८ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। तर सानुभाई भने पटके अभियुक्त भएको भन्दै जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।