काठमाडौं– ठमेलको चर्चित नाइट क्लब लड्र्स अफ ड्रिम्स (एलओडी) मा बालिकालाई प्रवेश गराएको घटनामा पक्राउ परेका कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
बालिकालाई प्रवेश गराएको घटनामा तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। सो प्रकरणमा एलओडीका म्यानेजर सहदेव सेढाई, काउन्टर स्टाफ सपना ढुंगाना पक्राउ परेका थिए। पछि ढुंगाना हाजिरी जमानीमा रिहा भएकी थिइन् भने एलओडीका सीईओ रविन श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।
पक्राउ परेकाहरुलाई जनही १ लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले आदेश दिएको हो।
एलओडीमा नाबालिकालाई प्रवेश दिएको र पछि ती नाबालिकालाई एक युवाले आफ्नो घरमा लगेर बलात्कार गरेको घटना बाहिरिएपछि एलओडीमाथि पनि अनुसन्धान अघि बढाइएको थियो। सो क्रममा एलओडीका सञ्चालकद्वय रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए। पछि उनीहरुलाई प्रहरीले हाजिरी जमानीमा छाडेको थियो।
पछि सञ्चालकलाई उन्मुक्ति दिएर तीन कर्मचारीलाई मात्रै मुद्दा दायर गरिएको थियो। उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३३ को उपदफा (२) (क) र (ख) बमोजिमको कसुर गरेकाले सोही अनुसारको कारबाही माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।