कञ्चनपुर- कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको जानकारी दिइएको छ।
घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरणशैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताए। ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ 'जबदिया'मा लगेर सामूहिक बलात्कार गरेका थिए।
‘बलात्कार गरेर चारै युवक भागे। दुई युवकसंग चिनजान थियो’ किशोरीलाई उदृत गर्दै प्रहरी प्रमुख बमले भने, ‘पीडित किशाेरीले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन्’। फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ।
‘अहिले किशोरी सुरक्षित छिन्’ बेल्डाँडी प्रहरी प्रमुख बमले भने। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यसअघि कञ्चनपुरकै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।