काठमाडौं– अमेरिकाको सपना देखाएर मानव बेचबिखन तथा ठगी धन्दा चलाउँदै आएका पोखराका एक मानव तस्कर पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको विशेष टोलीले लामो अनुसन्धानपछि मानव तस्कर कमल तामाङलाई पक्राउ गरेको हो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले तामाङलाई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गबाट पक्राउ गरिएको जानकारी दिए। पोखरा महानगरपालिका–२७ घर भएका ३४ वर्षीय तामाङले अमेरिकाको सपना देखाउँदै ६० लाख रुपैयाँसम्म लिएर ठगी गरेको खुलेको छ।
उनले सुन्दर भविष्य, सुविधा सम्पन्न जीवनशैली हुने आश्वासन देखाउँदै अवैधानिक बाटोबाट अमेरिका पुर्याउने भन्दै धेरै जना नेपालीलाई अलपत्र पारेको प्रहरीले जनाएको छ। नेपालीहरुलाई विभिन्न देशमा लगी बन्धक बनाउने, यातना दिने, फिरौती लिने जस्ता कार्यमा तामाङको संलग्नता देखिएको एसएसपी श्रेष्ठले बताए।
पक्राउ परेका तामाङलाई जिल्ला अदालत काठमाडौंबाट म्याद लिइ मानव बेचबखिनको कसुरमा अनुसन्धान अघि बढाइएको छ। तामाङले अमेरिका लैजाने भन्दै मानव बेचबिखन तथा ओसार पसार गरेको भन्दै ब्यूरोमा ४ वटा उजुरीसमेत परेका छन्। उनले अमेरिका लैजाने भन्दै प्रतिव्यक्ति ११ लाख ३० हजार रुपैयाँदेखि ६० लाख रुपैयाँसम्म असुल्ने गरेको पनि पाइएको छ।
अमेरिका पठाउनेभन्दै उनले २ करोड २६ लाख २३ हजार ८९० रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। पीडितको संख्या थप हुनसक्ने भएकोले योभन्दा पनि बढी रकम उनले ठगी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
अमेरिका लैजाने भन्दै सुरुमा नेपालबाट भारतको नयाँदिल्ली पुर्याउने र त्यसपछि अन्यत्र देशमा पुर्याएर अलपत्र पार्ने गरेको अनुसन्धानबाट देखिन्छ। नयाँदिल्लीबाट श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बियालगायतको देशमा नेपालीलाई पुर्याउने काममा तामाङको संलग्नता देखिन्छ।
अमेरिका लैजाने भनी नेपाली नागरिकलाई अवैध रुपमा ओसारपसार गर्ने कार्यमा संलग्न अधिकांश प्रतिवादीहरु नेपाली नै भएको र उनीहरु नेपाल तथा अन्य देशहरुमा बसी आ–आफ्नो जिम्मेवारी बाँडफाट गरी संगठित रुपमा परिचालित हुने गरेको तथ्य बाहिर आएको छ।
अमेरिका लैजाने बाहनामा हुने मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा १६ वर्ष उमेरदेखि ५० वर्ष उमेर समूहका पुरुषहरु रहेको एसएपी श्रेष्ठले बताए। यो अपराधमा पीडितहरुले नै राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ लगायतको खर्च आफैंले गर्ने गरेको गरेका छन् भने अमेरिका लैजाने भनी हुने गरेको मानव ओसारपसारमा भिजिट भिसाको दुरुपयोग हुने गरेको खुलेको छ।
यो घटनामा अन्य व्यक्तिहरुको संलग्नता रहेको पाइएकाले उनीहरुको पनि खोजतलास जारी रहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।