काठमाडौं– दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले 'युवा सर्ट फिल्म प्रतिस्पर्धा' गर्ने भएको छ।
सोमबार कलेजको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरिएको हो। २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नु पर्ने जनाइएको छ।
विज्ञप्तिअनुसार, प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ। दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ। प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्। यसै गरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ।
अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतिस्पर्धाबारे भने, ‘फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो।’
फिल्म अत्यन्तै सिर्जनात्मक विधा भएको र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित फिल्म निर्माण प्रतिष्पर्धा गर्ने पहल गरिएको उनको भनाइ छ। युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने भएकोले कलेजले यो प्रतिस्पर्धा गर्न पहल गरेको उनको बताए।
अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको युवा सर्ट फिल्म प्रतिस्पर्धालाई आगामी वर्षहरुमा निरन्तरता दिइने पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।