काठमाडौं– देशभर वर्षायाम सुरु भएसँगै रगत संकलन कम हुन थालेको छ। रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो।
वर्षात्को समय सुरु भएदेखि मंसिर/पुससम्म दैनिक करिब आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए। उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताए।
केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो। उनले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको जानकारी दिए।
पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरुको तथ्यांक हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने उल्लेख गरे। देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेका छन्।
निर्देशक पौडेलले नेपालमा कूल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए। कूल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उनको भनाइ छ।
नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने उनी बताउँछन्। १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको उनले बताए।
निर्देशक पौडेलले पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्नेमा जोड दिए। पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रबन्ध मिलाउनुपर्ने बताए।
उनले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गर्व गर्न लायक प्याकेज ल्याउनुपर्ने उल्लेख गरे। पछिल्लो तथ्यांक अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।