काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ। आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो।
भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षे योजना तर्जुमाको विषयमा चासो राखेको थियो। १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजी खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको आयोग सचिवालयले बताएको छ।
छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए। जुलाई २० मा नेपाल आएको आईएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहनेछ। भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।