काठमाडौं– कालिगण्डकी निमार्ण कम्पनीका सञ्चालक डीबी खत्रीका छोरा तथा निर्माण व्यवसायी निर्मल खत्रीमाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बुटवलको कालिकापथस्थित होराइजन चोक नजिक उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारको आरोपमा पक्राउ परेकाहरुको विवरण प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।
खुकुरी प्रहारबाट खत्रीको टाउकोमा चोट लागेकाले ६० वटा टाँका लगाइएको बताइएको छ। करिब ३० जनाको समूहले निर्माण व्यवसायी खत्रीलाई खुकुरी तथा ढुंगामुढाले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमण गर्ने समूहका अरु व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटना बिहीबार साँझको हो। पिच गर्न कालोपत्रे गरेर राखेको सकडमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक गुडाएपछि सडक विग्रिएको भन्दै विवाद सुरु भएको थियो। सोही विवादपछि कादरीले युवाहरुको समूह ल्याएर आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।