भरतपुर– गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण चितवनमा १२ जनाले ज्यान गुमाएका छन्। ती मध्ये बाघ र गैँडाको आक्रमणबाट ५/५ जना र हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ।
मृतकका परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन्। गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई ४ लाख २७ हजार १२८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट ७, भालुको आक्रमणबाट ७, जंगली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।
यस्तै जंगली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। यसको राहत स्वरुप ३१ लाख ३८ हजार ४०० रुपैयाँ प्रदान गरिएको छ।
जंगली जनावरका कारण भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार रुपैयाँ राहत रकम भुक्तानी गरिएको छ। यस्तै, सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। जसको क्षतिबापत २ लाख ३४ हजार ९०० रुपैयाँ भुक्तानी गरिएको छ। यस्तै, अन्नबालीमा क्षति ६१७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार ६२५ रुपैयाँ भुक्तानी गरेको छ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले २ करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।