काठमाडौं- प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाल छन्।
उनीहरुलाई आइतबार कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा दलका प्रमुख नेताहरुसँग चिनजान छ भन्दै विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने आश्वासन दिएर कागजातमा सहीछाप गराएर व्यक्तिहरुबाट ४५ लाख रकम ठगी गरेर फरार भएका थिए।
ना४च ८६७० नम्बरको स्कोर्पियो जिप समेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उनीहरुविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।