प्रकाश ज्वाला (फाइल तस्बिर)
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन्।
आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
लाइसेन्सको स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको मन्त्री ज्वालाको भनाइ छ।
यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको मन्त्री ज्वालाले उल्लेख गरे। उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि बेवास्ता गर्नु नहुने बताए।
यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको मन्त्री ज्वालाको भनाइ छ। उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्त्वपूर्ण रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।