काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा शनिबार आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तर्क्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन्।
पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत्, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन्।
जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको उल्लेख गर्दै मन्त्री शर्माले यस विषयमा बन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिइन्।
जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताअनुसार समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेस प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव सङ्कलनको अभियान सुरु गरिएको जानकारी दिँदै उनले मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन्।
शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याउने तयारी गरिएको बताउँदै मन्त्री शर्माले धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालयमा एक वर्षभित्र इन्टरनेट सेवा पुर्याउने आश्वासन दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।