काठमाडौं- नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन्।
भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरे। केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गर्नुभएकोे विश्व कीर्तिमानलाई समेत तोडेका हुन्।
न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए। राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए।
निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राख्नुभएका उहाँलाई गिनिज बुक अफ वल्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे।
नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी आध्यामिक साधक पनि हुन्। केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन्। यसअघि ८० घण्टा लगातार वक्तव्य दिएपनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।