काठमाडौं– रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। वरिष्ठ अभिनेता तथ निर्देशकसमेत रहेका रिमालको आज बिहान १ः०७ बजे काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो।
अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरिरलाई आज बिहान १० बजेसम्म आफ्नै निवासमा राखिने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले बताए।
नेपाल चलचित्र कलाकार संघका पूर्व संरक्षकसमेत रहेका रिमाललाई श्रद्धाञ्जलि दिन अहिले कलाकार, चलचित्रकर्मीहरू, गायकगायिका तथा संगीतकर्मीहरू रिमाल निवास बानेवर पुग्ने क्रम जारी छ।
रिमाल कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबै क्षेत्रमा उत्तिकै अब्बल मानिन्थे। उनले आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका फिल्ममा अभिनय गरेका छन्।
रिमालले भीमसेनको अन्त्य र मुकुन्द इन्दिरा जस्ता ऐतिहासिक नाटकमासमेत अभिनय गरेका छन्। २००७ सालमा स्थापित रेडियो नेपालका उनी संस्थापक सदस्यसमेत हुन्।
रेडियो नेपाल मार्फत रेडियो नाटक (रूपक)लाई उचाइमा पुर्याउन उनको भूमिकालाई विशिष्ट मानिन्छ। नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गर्दथे।
त्यस्तै, शङ्कर लामिछानेको रचनामा रिमालको सङ्गीत र स्वर पहिलो पटक रेडियो नेपालबाट गुञ्जिएको थियो।
गायक रिमालको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।