काठमाडौं– बिम्स्टेक शिखर सम्मेलनलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा लगाइएको जोर–बिजोर प्रणाली आज पनि जारी छ। सम्मेलनको अन्तिम दिन शुक्रबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा बिजोर नम्बर प्लेटका सवारी साधन मात्रै गुड्न पाउने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
यो व्यवस्था बिहान ६ बजेदेखि सुरु भई राति १० बजेसम्म लागू हुने छ।
बिहीबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन बुधबारदेखि नै सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको हो।
बिम्स्टेक सम्मेलनमा खटिने तथा आमन्त्रित व्यक्तिहरुका लागि भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिइनेछ। त्यस्तै, हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत निर्वाध गुड्न दिइनेछ।
अत्यावश्यक काममा हिँडेको पुष्टि भएमा त्यस्ता सवारीलाई समेत छाडिने महाशाखाले जनाएको छ।
पत्रकारका हकमा भने सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
सम्मेलनलाई नै मध्येनजर गर्दै शुक्रबार पनि उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द हुनेछन्।
गत बुधबार गृह मन्त्रालयअन्तर्गत सुरक्षा महाशाखाको बैठक बसी सम्मेलन अवधिभरका लागि उपत्यकाका सबै विद्यालय तथा क्याम्पस बिदा दिने निर्णय गरिएको थियो।
शैक्षिक संस्था बन्द भएपछि सडकमा सवारी चाप स्वतः कम भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।