काठमाडौं– सुन तस्करी प्रहरीमा पक्राउ परेका चिनियाँ नागरिक लिन चुवान विगत सात महिनादेखि नेपालमै बस्दै आएको पाइएको छ।
राजश्व अनुसन्धान विभागका अनुसार उनी महाराजगञ्जमा रहेको ल्याण्ड लाइन ओसियन इन्टरनेशनल लजिष्टिक कम्पनीको बिजनेश भिसा लिएर सात महिनादेखि नेपालमा बस्दै आएको पाइएको हो।
चीन जान लागेका उनलाई बिहीबार दिउँसो प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।
यस्तै यो प्रकरणमा बिहीबार साँझ थप दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ।कोटेश्वरबाट पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठ रहेका छन्। योसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा ९ जना पक्राउ परेका छन्।
राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब एक क्वीन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल पनि पक्राउ परेका छन्।
भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो।
पक्राउ पर्ने अन्य व्यक्तिहरुमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका-४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन्।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ। लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।