काठमाडौं– एक सय किलो सुन पक्राउ परेका व्यक्तिहरुलाई उच्च अदालत पाटन पेस गरिएको छ। राजश्व अनुसन्धान विभागले उनीहरुलाई राजश्व छलि र सुनको अवैध आयात–निर्यातमा अनुसन्धानका लागि म्याद थप गर्न पेस गरेको हो।
राजश्व अपचलनको मुद्दा उच्च अदालतमा दर्ता हुने भएकाले उनीहरुलाई उक्त अदालतमा पेस गरिएको हो। उच्च अदालतले उनीहरुलाई पहिलो पटक १० दिन अनुसन्धानका लागि थुनामा राख्न सक्ने आदेश पनि गरेको छ।
पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो। उनीहरुलाई पक्राउ गरेको मितिदेखि उक्त मिति लागू हुने छ। यो प्रकरणमा अहिलेसम्म एक चिनियाँ नागरिकसहित ६ जनालाई पक्राउ गरिएको छ।
विमानस्थलबाट चीन उड्न लागेका लिङ चुवानलाई बिहीबार पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका– ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन्।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी तीव्र पारिएको छ। लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोडेर ल्याइएको ब्रेक शुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।