काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन बरामद प्रकरणको थप अपरेसन जारी रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ।
भन्सारमा स्कुटर तथा मोटरसाइकलका थप ब्रेक सुजस्ता सामानहरु रहेकोले त्यसमा पनि सुन हुनसक्ने आशंका विभागले गरेको छ। विभागका महानिर्देशक (डीजी) नवराज ढुंगाना अहिले आफैं भन्सार कार्यालयमा पुगका छन्।
डीजी ढुंगानासँगै सशस्त्र प्रहरीको टोली पनि थप सुन खोज्न परिचालित भएको छ। रावश्व अनुसन्धान विभागमा नेपाल प्रहरी नभई सशस्त्र प्रहरीको टोली खटिन्छ। विभाग अहिले सशस्त्रका डीएसपी प्रदीप राईको कमाण्डमा एक टोली छ।
सशस्त्रको उक्त टोली र डीजी सहितको टोली थप अपरेसनमा जुटेको छ। भन्सार कार्यालयमा खएर खानतलासी गर्ने, सोधपुछ गर्ने तथा पक्राउ परेका व्यक्तिहरुको कोठा खानतलासी गर्ने काम सुरु भएको छ।
यो प्रकरणमा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका-४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन्।
त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ। लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
विभागका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।