काठमाडौं– फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदुषित गरेको भन्दै चलचित्र ‘बगान’को निर्मातालाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालय बोलाएर ५० हजार जरिवाना तिराएको निर्माता सुरेश वाग्लेले बताए। ‘पोस्टर टाँसेको देखेर हामीलाई फोन गरियो। कुरा गर्न भनेर बोलाउनुभएको थियो। कार्यालयमा मिडिया बोलाएर हाम्रो फिल्मको दुष्प्रचार गरियो। त्यहाँ हामीलाई नराम्रो व्यवहार गर्दै जरिवाना तिराइयो,’ निर्माता वाग्लेले भने।
जरिवाना तिरेपछि वाग्लेले महानगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मेन्सन गर्दै फेसबुक पोस्टमा असन्तुष्टि जनाएका छन्। ‘बालेन जी, आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग त गर्नु भएन तर अवरोध चाहिं नगरिदिनुहोल। बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोघ्नुहोला।’
यसबारे महानगरका प्रहरी प्रमुख पाण्डेसँग बुझ्दा उनले आफूहरूले निर्माता र वितरकलाई नराम्रो व्यवहार नगरेको बताए। ‘हामीले सहर कुरुप नबनाउनुहोला। यसवापत् जरिवाना गराउँछौँ भनेर बिल तिराएका हौँ। मैले मिडिया बोलाएको हैन। कसरी थाहा पाएर आफैं आइपुग्नुभएछ। नराम्रो व्यवहार गरेका छैनौँ,’ उनले भने।
महानगर प्रहरी प्रमुख पाण्डेको भनाइ :
हामीले पोलहरूमा पोस्टर नटाँस्न पटक पटक आग्रह गरेका छौँ। कतिलाई त कारबाही पनि गरिसकेका छौँ। बिहान हेर्दा काठमाडौंका पोलभरि ‘बगान’को पोस्टर टाँसेको भेटिए। मैले फिल्मका निर्देशक सरोज खनाल जीलाई लाई कल गरेँ।
उहाँले यो वितरकको बदमासी भन्नुभयो। उहाँले वितरक करण श्रेष्ठको नम्बर दिएर सहयोग गर्नुभयो। फोन अफ थियो। त्यसपछि करणजीको अफिसमा गयौँ। उहाँले कार्यालयमै आउँछु भन्नुभो।
कार्यालयमा उहाँ आएपछि हामीले भन्यौँ– हामी महानगर सफा गर्छौँ, पोस्टर फेरि फोहोर हुन्छन्। र यो फिल्म हेर्न मलाई पनि मन छ। म पनि आउँला। तर सहर कुरुप नबनाउनुहोला। हामी यसवापत् जरिवाना गराउँछौँ।’
मैले मिडिया बोलाएको हैन। कसरी थाहा पाएर आफैं आइपुग्नुभएछ। नराम्रो व्यवहार गरेका छैनौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।