काठमाडौं– ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाइ सुरु भएको छ। न्याायधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि मुद्दाको सुनुवाइ शुरु भएको थियो।
बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मराज गौतमले दायर गरेको रिटमा अन्तिम सुनुवाइ चलिरहेको छ। सोमबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नरेन्द्र गौतमसहितले बहस गरेका थिए।
मंगलबार चिया समय अघिसम्म निवेदक पक्षको बहस सक्दै सरकारी जवाफ सुन्ने इजलासको तयारी छ। सरकारी पक्षको बहसपछि सर्वोच्चले आदेश सुनाउने छ। सरकारी बहसपछि निवेदकले पनि जवाफ दिनुपर्ने भएकाले समयको पालना गराउँदै सुनुवाइ सक्ने इजलासको तयारी छ। सम्भव नभएमा मंगलबार पनि हेर्दाहेर्दै राखेर सुनुवाइ हुने छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने क्रममा सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेका निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टस्टोरमा सञ्चालक गुरुङसहितका बन्दी असार १३ गते सर्वोच्च पुगेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत भने केही पछि पुगेका थिए। सर्वोच्चले यो विवादसँग जोडिएका ६ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।
अलग–अलग दर्ता भएका यी मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गरिएको हो। सोमबारको बहसका क्रममा निवेदकका कानुन व्यवसायीहरुले ललिता निवासको सरकारी जग्गा किर्तेमा उनीहरु संलग्न नै नभएको दाबी गर्दै तत्काल थुनामुक्त गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।