काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
यसअघि असार २७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि साउन २ गते (मंगलबार)का लागि सरेको थियो।
झण्डै १ वर्पछि बस्न लागेको बैठकमा छलफलका लागि १० अजेन्डा तय भएको महामन्त्री शर्माले बताएका छन्। बैठकका अजेन्डा तय गर्न सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका थिए।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र शर्माले बैठकका अजेन्डाका सन्दर्भमा प्रस्ताव राखेका थिए।
समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षासँग सम्बन्धित विषय छलफलको अजेन्डा तय भएका छन्।
महामन्त्री शर्माका अनुसार यो पटक धेरै लामो समयपछि बैठक बस्न लागेका कारण कम्तीमा १ हप्तासम्म चल्ने छ। पहिलो दिन दिउँसो १ बजेदेखि सुरु हुने बैठक त्यसपछि भने हरेक दिन बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।