



हेटौँडा - मकवानपुरको भीमफेदीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित पाँच सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।
मकवानपुर जिल्ला प्रशासन कार्यालयका अनुसार, समितिले दुर्घटनाका विभिन्न पक्षको छानबिन गर्नेछ। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे अनुसन्धान पनि गर्नेछ ।
आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत सुझाउन भनिएको छ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए। सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त नहुने देखिएको छ ।
बुधबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।