काठमाडौं– गैरआवासीय नेपाली संघले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०२३’ का लागि २०७९ सालमा प्रकाशित गैरआवासीय नेपाली लेखकहरुका कृति पठाउन आह्वान गरेको छ।
संघले नेपालमा उपलब्ध हुन सक्ने पुस्तक गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालय, सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं (सम्पर्क व्यक्ति : अनिल ढुंगाना, मोबाइल नम्बर ९८४९०४६१४४) मा पठाउन, बुझाउन आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने २०७७ सालको पहिलो अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पुरस्कार साहित्यकार हरि अधिकारीलाई उनको पुस्तक ‘संकलित गद्य रचना’का लागि प्रदान गरिएको थियो। शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुरस्कार प्रदान गरेका थिए।
२०७८ सालको अरनिको पुरस्कार चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ। गत बैशाखमा आयोजित एक समारोहमा रास्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका थिए।
यो पुरस्कारको राशी २ लाख रुपैयाँ नगद रहेको छ। त्यस्तै, सम्मानपत्र पनि प्रदान गरिन्छ। संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनएले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको काम समेत गरिरहेको बताए।
उनले नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धि मा योगदान पुर्याइरहेका श्रस्टाहरुको सम्मान गर्न पहिलो गैरआवासीय नेपाली ठानिएका कलाकार अरनिकोको नाममा संघले उक्त पुरस्कार स्थापना गरेको पनि बताए।
उक्त पुरस्कारका लागि आफ्नो कृति यही अगस्ट महिनाको अन्तिम सम्ममा पठाइ सक्न पनि संघले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।