काठमाडौं- आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रशासन अधिकृतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी परेपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले बताएको छ।
उक्त अस्पतालमा फार्मेसी अधिकृत अमृत पोखरेल मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
पोखरेलमाथि अस्पताल प्रशासनले छानबिन गरेको पाइएको छ। ३५ वर्षीय फार्मेसी अधिृकत पोखरेललाई जिम्मेवारीबाट हटाएर छानबिन गरिएको पाइएको हो। छानबिन समिति नै बनाएर पोखरेलसहित ७ जनाविरुद्ध अस्पताल प्रशासनले छानबिन गरेको थियो।
सो क्रममा उनीमाथि सोधपुछदेखि स्पष्टीकरण समेत समितिले लिइसकेको पाइएको छ। बिहीबार मात्रै समितिले पोखरेलसँग सोधपुछ तथा स्पष्टीकरण लिएको हो। त्यसको भोलिपल्ट शुक्रबार उनी अस्पतालमै मृत भेटिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।