काठमाडौं- विभिन्न प्रलोभन देखाएर नेपाली नागरिकलाई दक्षिण-पूर्वी एसियाका देशहरुमा पुर्याएर अनलाइन स्क्याम (ठगी) धन्दामा लगाउने एक चिनियाँ नागरिक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले चिनियाँ नागरिक जोनसोन नाम बताउने लिङ जुनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौंको बिजेश्वरीबाट पक्राउ गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए।
लिङ सहितका व्यक्तिले लाओस, थाइल्याण्ड, म्यानमार लगायतका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै त्यहाँ पुर्याएर अनलाइन स्क्यामिङमा नेपालीहरुलाई प्रयोग गर्ने गरेको पाइएको छ। उनीहरुले भनेअनुसार स्क्यामिङ काम नगरे मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पीडितहरुले बताउने गरेका छन्।
एक व्यक्तिलाई लिङको समूहले गत वर्षको साउन ८ गते नेपालबाट थाइल्याण्ड पुर्याई त्यहाँबाट १३ घण्टासम्म बस र डुंगामार्फत म्यानमार पुर्याएका थिए। म्यानमारमा बन्धक बनाएर मोबाइल र पासपोर्ट समेत खोस्ने र अनलाइन स्क्यामिङ गर्न लगाएका थिए। भने अनुसार गैरकानुनी काम नगरे बन्धक बनाउने, परिवारसँग फिरौती माग्ने, यातना समेत दिने गरेको खुलेको छ।
फिरौती रकम बुझाएर एक व्यक्ति चिनियाँ गिरोहबाट फुत्केर नेपाल आई ब्यूरोमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले लिङलाई पक्राउ गरेको हो। यो गिरोहमा अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।